काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले ‘निशुल्क खानेपानी, सुखी जिन्दगानी’ भन्ने नारालाई चुनावी एजेण्डा बनाएको छ । जसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने भनि स्थानीय तह निर्वाचन घोषणापत्र– २०७८ को मस्यौदामा उल्लेख गरेको हो ।

खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा पु¥याइने पनि स्थानीय तह निर्वाचन घोषणापत्र– २०७८ को मस्यौदामा उल्लेख छ । हरेक घर परिवारमा खानेपानी पु¥याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने र सोहीअनुसार बजेटको प्राथमिकतालाई पनि प्रतिबद्धतापूर्ण तवरले पूर्णता दिने कुरा घोषणापत्रमा समाबेश गरिएको छ ।

हरेक पालिकामा युवा विभाग, हरेक वडामा खेल मैदान, संरक्षित कृषि बजार, प्रत्येक घर–परिवारलाई २०० युनिट निशुल्क बिजुली बत्तीको सुविधा, सामुदायिक विद्यालयको सुधार, निशुल्क आधारभूत स्वास्थ्य उपचारलगायतका एजेण्डा पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको घोषणापत्रमा समेटिएको छ ।