वीरगञ्ज – बारामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका–७ बस्ने ६० वर्षीय कन्हैयाबहादुर क्षेत्रीको मृत्यु भएको हो ।

सोमबार दिउँसो २ः३५ बजे वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित सिपर्दी ट्रेडिङ नजिकै ना५ख ७५०७ नम्बरको ट्रकले प्रदेश २–०३–०१४ प.१३६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चालक क्षेत्रीको टाउको, मुख, खुट्टामा चोट लागेको थियो । गम्भीर घाइते उनलाई सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि वीरगञ्जको नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक क्षेत्रीको शव नेशनल मेडिकल कलेजबाट पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।