फाइल तस्वीर
काठमाडौं — पाँच दलीय सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेको संयोजकत्वमा गठित समितिले चुनावी तालमेलको ढाँचा तयार गर्न बैठक बस्न लागेको हो ।

बैठकमा सत्तागठबन्धनका दलहरूले चुनावी ढाँचाबारे छलफललाई अगाडि बढाउने र जिल्लाहरुका कुन कुन दलको अवस्था के कस्तो छ भन्ने अवस्थालाई उल्लेख गरी प्रतिवेदन प्राप्त भएपछि बैठक बस्न लागेको हो । आजको बैठकमा गठबन्धन दलको चुनावी तालमेल कसरी गर्ने भन्ने विषयको ढाँचा तयार गरिने भएको छ ।

यसअघि गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश, जिल्ला र पालिका तहमा पाँचदलीय प्रतिनिधि रहने संयन्त्र बनाउने निर्णय गरेको थियो । त्यो संयन्त्रले केन्द्रमा प्रतिवेदन पठाएको छ । प्राप्त प्रतिवेदन अध्ययन गरेपछि चुनावी तालमेलको ढाँचाबारे छलफल हुने एक नेताले बताए । गत ०७४ को परिणामअनुसार तालमेल गर्ने वा अरू केही नयाँ मापदण्ड तयार गर्ने भन्नेमा दलहरूबीच छलफल भइरहेको छ । पाँचदलीय गठबन्धनका प्रत्येक दलबाट दुई दुई जना सदस्य रहेका छन् ।

चैत १७ गते बिहीबार बसेको सत्तागठबन्धन दलको बैठकले स्थानीय चुनावमा पाँचदल मिलेर जाने सहमति गरेका थिए । तर महानगरपालिका र नगरपालिकामा कसकसले लिने भन्ने विषयमा सहमति भैसकेको छ्रैन् । देशका ७५३ वटा स्थानीय निकायमा गठबन्धन दलहरु मिलेर जानेसम्भावना न्यून देखिन्छ । यसअघि चैत २३ मा पौडेल नेतृत्वमा चुनावी तयारी तथा अनुगमन समितिको पहिलो बैठक बसेको थियो । आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।