फाइल तस्वीर
बाँके – राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा एमालेसँग तालमेल गरेर सूर्य चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन् । पार्टीले नेपालगञ्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एमालेसँग चुनावी तालमेलका लागि कुराकानी भइरहेकाले सहमति भए सूर्यबाट चुनाव लड्ने बताएका हुन् ।

सधैं पार्टी नेतृत्व र सत्तामा रमाउन चाहने थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पराजय भोगेपछि उक्त पार्टी परित्याग गर्दै पुनः राप्रपा नेपालको अध्यक्ष बनेका थिए । हिन्दु धर्म र संवैधानिक राजतन्त्रको वकालत गर्दै हिंडेका थापा पार्टीको महाधिवेशनमा पराजित भएपछि राजतन्त्रको एजेण्डालाई त्यागेको बताउँदै आएका छन् । तिनै थापा अहिले एमालेको चुनाव चिन्ह ‘सुर्य’ लिएर निर्वाचनमा जान तयार भएका छन् ।
अध्यक्ष थापाले आफूहरूले एमालेसँग ठूलो भाग नखोजेको दावी गर्दै ‘हामीले धेरै ठूलो माग गरेका छैनौं । बाँकेको कुरा गर्ने हो भने नेपालगञ्ज उपमहानगरपालिकामा उपमेयर र केही वडाध्यक्ष, कोहलपुर नगरपालिकामा पनि उपमेयर, केही वडाध्यक्षमा हाम्रो रुचि छ भन्दै अध्यक्ष थापाले गाउँपालिकामा केही वडाध्यक्ष र सदस्य आशा गरेका छौं’ भनेका छन् ।

थापाले राजसंस्था बोकेर हिँड्दा हिन्दूराष्ट्र स्थापनाको मुद्दा नै कमजोर हुन थालेकाले राजसंस्थालाई छाडेको दावी समेत गरे । ‘सबै दलको स्वीकार्य हुने गरी राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेको थिएँ । राजाले भने राजसंस्था पुनःस्थापनाका लागि कुनै सक्रियता देखाएनन्, उल्टै राजाले पटक–पटक पार्टीमा हस्तक्षेप गरे’ भन्दै थापाले ‘राजाले पार्टीमा हस्तक्षेप गरिरहे। राजालाई बोकेर हिँड्दा हिन्दु राष्ट्रको एजेण्डा कमजोर हुने भयो’ भनेका छन् । थापाले माओवादीलाई समेत स्वीकार्य हुने राजसंस्था स्थापना गर्ने विषयमा आफू निरन्तर लागेको बताएका छन् ।

नेपालगञ्जमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका–५ का कैफुलबरा जोलाह र वडा नम्बर ८ का सुरेन्द्र गुप्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । दुवै वडाध्यक्षसहित केही युवाहरु राप्रपा नेपालमा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष थापाले पार्टी प्रवेश गराएका थिए ।

२०७४ सालको निर्वाचनमा नेपालगञ्ज उपमहानगरको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा. धवलशमशेर राणाले बाजिमारेका थिए । राप्रपाका महामन्त्री समेत रहेका राणा राप्रपाबाट मेयरमा जित्दा नेपालगञ्जका २३ मध्ये तीन वटा वडामा राप्रपाले चुनाव जितेको थियो । त्यही तीन जनामध्ये दुई जना वडाध्यक्ष बिहीबार राप्रपा नेपालमा प्रवेश गरेका हुन् । राप्रपाले जितेको वडा नं. ४ का अध्यक्ष सफिक बेहना डा. राणासँगै छन् । आगामी प्रतिनिधिसभाको निर्वाचनमा डा. राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्ने चर्चा पनि चलिरहेको छ ।

यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली पनि राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गठबन्धन गरेर निर्वाचनमा जाने भएका छन् । प्रतिगामी शक्तिसँग तालमेल गरेर एमाले अध्यक्ष ओलीले गठबन्धन गर्नका निम्ति केही समय अघिदेखि जोडबल गरिरहेका छन् । एमाले अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने रणनीति अनुरुप काङ्ग्रेसी नेता डा. शेखर कोइराला समूहलाई भित्रभित्रै गठबन्धन भत्काउन लागि परेका छन् । काङ्ग्रेसको शेखर समूह अहिले पनि गठबन्धनको विपक्षमा उभिंदै आएको छ ।