काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) ले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री बन्दीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बन्दीलाई राष्ट्रपति भण्डारीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गर्नुभएको थियो । सांसद नभएका कानुन व्यवसायी गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका निकट मानिनुहुन्छ । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । सोही अनुरुप उहाँलाई मन्त्रीमा नियुक्त गरिएको हो ।

शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्री गोविन्द बन्दीको शपथ ग्रहण कार्यक्रममा भएको थियो । उक्त कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री शेरबहादुर देउवालगायतका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । नवनियुक्त काननु मन्त्री बन्दीले आजै पदभार ग्रहण गर्दै हुनुहुन्छ ।

यस अघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका दिलेन्द्रप्रसाद बडुलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालय लामो समयदेखि मन्त्रीविहिन रहँदै आएको थियो ।