काठमाडौं – नेपाली काङ्ग्रसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिन लागिएको खोपको उद्घाटन गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गर्नुभएको हो ।

आजदेखि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्ने बताइएको छ । यो अभियान अन्तर्गतको खोप १ वर्ष ५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ । बालबालिकालाई भोलि शुक्रबारदेखि खोप दिइँदैछ । नेपालमा पहिलो पटक यो खोप दिन लागिएको हो ।

एक वर्ष ५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने सरकारको लक्ष्य रहेको छ । सरकारले आफूलाई पायक पर्ने नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सबैमा अनुरोध गरेको छ ।