काठमाडौं – नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ ।

हालसम्म २५ केन्द्रको ३ हजार २ सय ३ मत गणना गर्दा उहाँले १ हजार ९ सय ९० मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १ हजार ४ मत प्राप्त गर्नुभएको छ ।

नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म २५ केन्द्रको मतगणना सम्पन्न भएको छ । छ स्थानमा गणना भइरहेको थियो । अब आजदेखि थप दुई स्थान बढाएर आठ स्थानमा मतगणना गर्ने तयारी भइरहेको छ ।

हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गर्नुभएको समूहको अग्रता रहेको छ । महासचिवमा अञ्जिता खनाल १ हजार ७ सय ६५ उहाँको प्रतिस्पर्धी केदारप्रसाद कोइराला १ हजार १ सय ५७ रहेको छ । कोषाध्यक्ष भरतबहादुर राउतले १ हजार ९ सय २८ मत र उहाँका प्रतिस्पर्धी जगतबहादुर कार्कीले १ हजार ६६ मत प्राप्त गर्नुभएको छ ।

मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो । आज बिहान ९ बजेदेखि पुनःमतगणना प्रारम्भ गरिनेछ । शुक्रबारसम्म सम्पूर्ण नजिता आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिनुभयो ।

बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७ सय ८ मतदाता रहेका थिए । तीमध्ये ७ हजार ४ सय २९ मत खसेको थियो । रासस