बुटवल – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । ओलीले नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा नेपाल मगर युवा सङ्घको एक समूहले बुटवलको राजमार्ग चौराहास्थित लखन थापाको सालिक अगाडि ओलीको पुत्ला दहन गरेको हो ।

वि.सं.२०७२ सालमा सरकारले लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो । तर ओलीले प्रथम शहीद थापा नभएको अभिव्यक्ति दिएर मगर समुदायको अपमान गरेको भन्दै पुत्ला दहन गरेको उनीहरूले बताएका छन् ।

पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको थियो । विरोधसभामा नेपाल मगर सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष धनी आले, रुपन्देही जिल्ला सचिव थर्कबहादुर बाह्रघरे लगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिइ माफी नमागेसम्म चरणवद्ध आन्दोलन गर्ने बताउनुभएको छ ।