काठमाडौं – आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी पनि काठमाडौं महानगरपालिकाको मेयरमा लड्ने भएका छन् । उनी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा भिड्न लागेका हुन् । पार्टीको मङ्गलबार बसेको बैठकले अभिनेता केसीलाई काठमाडौंको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उन्नत लोकतान्त्रिक पार्टीका अनुसार केसीको चुनाव चिह्न किताब हुनेछ । लामो समयदेखि पार्टीको संवाद समितिले गरेको छलफलपश्चात राइट टु रिजेक्ट, राइट टु रिकल, प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्र प्रतिको प्रतिबद्धता गरेपछि केसीलाई पार्टीको परराष्ट्र विभाग समेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको उन्नत लोकतान्त्रिक पार्टीले जनाएको छ ।

यस्तै पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा रेश्मा लामालाई उम्मेदवार बनाउने जनाएको छ ।