काठमाडौं – नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ज्ञापनपत्र बुझाएको छ । आज मङ्गलबार सङ्घका अध्यक्ष दुजाङ शेर्पासहितका विद्यार्थी नेताले त्रिविले परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन, परीक्षाको नतिजा प्रकाशनलगायत विषयमा चरम लापरबाही गरेको भन्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष शेर्पाका अनुसार ज्ञापनपत्रका साथ सङ्घले विभिन्न सातवटा माग कार्यालय समक्ष राखेको छ । जस अन्तर्गत पहिलो माग त्रिभुवन विश्वविद्यालयको वार्षिक कार्यतालिकाअनुसार सम्पूर्ण कामहरू गर्नुपर्ने छ । यसैगरी दोस्रो माग परीक्षा सकिएको तीन महिनाभित्रमा नै परीक्षा नतिजा प्रकाशन गरिसक्नुपर्ने, तेस्रो माग शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि अनलाइनमार्फत आवेदन दिन पाउने प्रविधिको व्यवस्था गर्नुपर्ने छ । यस्तै चौथो प्रमाणपत्र प्राप्तिका लागि आवेदन दिएको २४ घण्टाभित्र प्रमाणपत्र उपलब्ध गराउनुपर्ने माग सङ्घको छ ।

अध्यक्ष शेर्पाका अनुसार सङ्घले राखेको पाँचौ माग परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण प्रमाणपत्रमा हुने त्रुटि सच्याउन आवेदन निःशुल्क हुनुपर्ने, छैटौं माग सेवामुखी तथा आवश्यक दक्ष जनशक्तिको व्यवस्था गर्दै भइरहेको सम्पूर्ण ढिलासुस्ती हटाउनुपर्ने र सातौं माग अबको १५ दिनभित्र परीक्षा नियन्त्रण कार्यालय परिषद्मा एउटा छुट्टै सहयोग कक्ष स्थापना गरी सेवा प्रदान गर्नुपर्ने माग राख्दै नेविसङ्घले परीक्षा नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।