काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू सङ्क्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ । झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको सङ्क्रमण देखिएको विभागले जनाएको छ ।
गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको सङ्क्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले बताउनुभयो । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा सङ्क्रमण देखिएको तिवारीको भनाइ छ ।
‘सङ्क्रमण फैलिने अवस्थामा देखिएको छ, सङ्क्रमण देखिएको ठाउँमा परीक्षण, निसङ्क्रमण र कुखुरा नष्ट गर्ने कार्यलाई तीब्रता दिएका छौं,’ महानिर्देशक तिवारीले भन्नुभयो, ‘बर्डफ्लू नियन्त्रण बाहिर छैन, तर फैलिन नदिन उच्च सावधानी अपनाउनु पर्ने निश्कर्षमा हामी पुगेका छौं ।’
पछिल्लो विवरणअनुसार प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा सङ्क्रमण पुष्टि भएको विभागले जनाएको छ । सङ्क्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपोसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।