फाइल तस्वीर
काठमाडौं— प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय सत्तागठबन्धनको बैठक अहिले बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएको हो ।

अहिले बस्न लागेको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको रिपोटिङ र स्थानीय तह निर्वाचनमा तालमेलको अवधारणा तयार गर्नेबारे छलफल हुने बताइएको छ ।

गठबन्धन दल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष समेत रहनुभएकी सांसद दुर्गा पौडेललेका अनुसार आजको बैठकले गठबन्धनभित्र रहेका दलहरुको साझा अवधारणा आज तय हुनेछ । चैत १७ गते बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

चुनावी गठबन्धनलाई लिएर नेपाली काङ्ग्रेस पार्टीभित्र ठूलो किचलो बढिरहेको छ । काङ्ग्रेसको संस्थापनपक्ष इतरको नेतृत्व गर्नु भएका नेता डा. शेखर कोइरालाले गठबन्धनको चर्को विरोध गर्दै आउनु भएको छ । स्थानीय तहमा कोइराला खेमामा नेताहरुले आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्नेसम्मका भनाइहरु आइरहेका छन् ।