कलैया – गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले कलैयामा सोमबार आयोजना गरेको सभामा खाँणले मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै नेपालमा जन्मेर हुर्किएकालाई नागरिकताबाट वञ्चित नगरिने बताउनुभएको हो ।

कानुनको अभावका कारण नागरिकता वितरणमा केही समस्या रहेको र त्यो समस्या अब छिट्टै सामधान हुने उहाँको दाबी थियो । नागरिकतासम्बन्धी कानुन निर्माणको प्रस्ताव सदनमा रहेको भन्दै मन्त्री खाँणले राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा लागि परेको जानकारी दिनुभयो ।

नागरिकता ऐन बनिसकेपछि पालिकास्तरमै टोली खटाएर नागरिकता वितरण गर्ने सरकारको सोच रहेको उहाँको भनाइ थियो । उहाँले मधेसी जनता नेपालको सच्चा राष्ट्रवादी भएको बताउनुभयो ।

मधेसी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेका बताउँदै गृहमन्त्री खाँणले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, ’भूमिको सुरक्षा मधेसकै दाजुभाइ दिदीबहिनीले गरिरहेको तथ्यलाई कसैले बिर्सिन हुँदैन ।’