काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुने गरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको एक कार्यक्रमकाबीच लोकार्पण गर्दै उहाँले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको सङ्गम थलोको रुपमा मानिएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले प्रकृतिको संरक्षण हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सम्बन्धित पक्षले विशेष महत्व दिनुपर्ने बताउनुभएको छ ।


उहाँले जनप्रतिनिधिहरुले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताउनुभएको छ । त्यसैगरी काठमाडौं उपत्यकाको हरियाली प्रवद्र्धन गर्ने, पानीमा मूलहरु बचाउने र जैविक विविधताहरुको रक्षा गर्ने कार्यमा पनि जोड दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाई थियो । उहाँले काष्ठमण्डप पुनर्निर्माणको काममा योगदान दिएको भन्दै काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, सम्पदाविद्हरु र स्थानीयबासीलाई पनि धन्यवाद दिनुभयो । राष्ट्रपति भण्डारीले आफ्नै स्रोत, साधन र सीपको परिचालन गरी काष्ठमण्डप पुनर्निर्माणको काम गर्नु राष्ट्रकै लागि खुशीको विषय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताबाट छानिएको प्रतिनिधिबाट विकासका कार्यहरु सञ्चालन भई जनताका दैनिक आवश्यक्ताहरुको प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम हो । यसैकारण नेपाली जनताको ठूलो त्याग र बलिदानको प्रतिफल स्वरुप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँच स्थापित गर्दै मुलुकको आर्थिक, सामाजिक रुपान्तरण हासिल गर्न सङ्घीय तथा प्रदेश र स्थानीय सरकारलाई पनि अधिकार सम्पन्न बनाएको छ ।

संविधानको यस भावनालाई आत्मासात गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नु पर्दछ । काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको अनुपम संगम मानिन्छ । हामीले भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षणगरी वातावरण जोगाउने कार्यलाई ठूलो महत्व दिनुपर्दछ । हरियाली प्रवद्र्धन गर्ने पानीका मूलहरु बचाउने एवम् जैविक विविधताको रक्षा गर्ने कार्यबाट मात्र हामीले सुन्दर धर्तीलाई भावी पुस्तालाई सुरक्षित रुपमा हस्तान्तरण गर्न सक्दछौं ।

आजको यस कार्यक्रममा काष्ठमण्डप पुनर्निर्माणमा विशेष योगदान गर्नु हुने विभिन्न व्यक्तित्वहरुलाई यहाँ सम्मानित गरिएकोमा उहाँहरुलाई बधाई दिँदै भविष्यमा पनि उहाँहरुबाट समाजले योगदान प्राप्त गर्दछ भन्ने विश्वास व्यक्त गर्दछु । यस पवित्र काष्ठमण्डपको पुनर्निर्माण गर्न आवश्यक पर्ने सम्पूर्ण आर्थिक व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं महानगरपालिका परिवारलाई म धन्यवाद दिन चाहन्छु । साथै सांस्कृतिक धरोहरको संरक्षण र सम्वद्र्धनका लागि अग्रसरता दिने पूरातत्व विभाग, सम्पदाविद्, एवम् स्थानीयबासीलाई समेत विशेष धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै सम्पदाप्रेमीहरु उत्साहित हुनेगरी आफूहरुले सम्पदा पुनर्निर्माणको कामलाई अघि बढाएको दावी गर्नुभयो । उहाँले काष्ठमण्डप पुनर्निर्माणको क्रममा देखिएको विवाद समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीप्रति पनि आभार व्यक्त गर्नुभयो ।

मेयर शाक्यले सम्पदाहरुको पुनर्निर्माणका लागि स्थानीयबासीको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गराउनुभयो । उहाँले २०७२ सालको भूकम्पले क्षति पु¥याएको बाँकि सम्पदाहरुको पुनर्निर्माणको काम पनि छिट्टै सम्पन्न गर्ने आश्वासन दिनुभयो ।