फाइल तस्वीर
काठमाडौं – नेपाल बार एशोसिएशनको नयाँ पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना भोलिदेखि सुरु हुने भएको छ । बार एशोसिएशनको २६औँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकका अनुसार देशभरबाट मतपेटिका काठमाडौं आउने क्रम जारी छ । ती बाँकी मतपेटिका भोलिसम्म आइपुग्ने र मतपेटिका आए लगतै मतगणना सुरु हुनेछ ।

बारको चुनावमा ९ हजार ६ सय ७ मतदाता छन् । यीमध्ये काठमाडौं उपत्यकामा मात्र ६ हजार मतदाता रहेका छन् । कुल मतदाताको ७५ देखि ८० प्रतिशत मत खसेको पाठकले बताइन् । बारको चुनावी मैदानमा सत्तारुढ गठबन्धननिकट कानुन व्यवसायी एकातिर छन् भने अर्कोतिर प्रतिपक्षमा रहेको एमालेनिकट कानुन व्यवसायीको सङ्गठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन छ ।

सत्ता गठबन्धनको नेतृत्व वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले गरेका छन् भने एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) बाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले नेतृत्व गरेका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार घिमिरे काङ्ग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) मा आवद्ध छन् । बारको अध्यक्ष पदका लागि ८ जना चुनावी मैदानमा छन् । अध्यक्षसहित ११ पदाधिकारी तथा सदस्य गरी २५ जना छानिनेछन् ।