काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेसँग आबद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन भएको छ । महासङ्घको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामूहिक भावना र सामर्थ्यका आधारमा सङ्गठननलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आइतबार राति सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, सचिवमा राममणि ढुङ्गेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ र विजय यादव तथा कोषाध्यक्ष सिन्धु जलेसा बुढाथोकी निर्वाचित हुनुभएको छ । एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा सुरु भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष खगेन्द्र राईले सहमतिका आधारमा उक्त नामावली घोषणा गर्नुभएको थियो ।

बन्दसत्रबाट साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा घोषणापत्र मस्यौदा समितिका तर्फबाट यशोदा अधिकारीद्वारा प्रस्तुत ११ बुँदे समसामयिक प्रस्ताव पारित भएको थियो । गत शुक्रबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो भने शनिबार महासङ्घ मातहतका विभिन्न सात विधागत घटकको अधिवेशन सम्पन्न भएको थियो । रासस