बर्दिबास – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताउनुभएको छ । बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ’हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हर्कतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।’ उहाँले भन्नुभयो, आसन्न स्थानीय तह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले विगतमा आफू नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको बताउनुभयो । रासस