फाइल तस्वीर
काठमाडौं — नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान ८ बजेदेखि मतदान शुरु भएको छ । नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट एकसाथ मतदान प्रारम्भ भएको छ । मतदान अपराह्न ४ बजे सम्पन्न हुनेछ ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा नौ हजार ७ सय ८ अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७ सय र उपत्यका बाहिर तीन हजार ५ सय रहेका छन् ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् । बारमा अध्यक्षका लागि व्यक्तिगतरुपमा र समूहगतरुपमा गरी आठ जनाको उम्मेदवारी परेको छ ।

काठमाडौं केन्द्रका लागि सर्वोच्च अदालत परिसरमा चारवटा बुथको व्यवस्था गरिएको छ । काठमाडौं केन्द्रमा उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप धादिङ, नुवाकोट, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका मतदाताले मतदान गर्नेछन् । रासस