काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भारत भ्रमणका लागि शुक्रबार नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगी सभामुखसहितका विशिष्ट पदाधिकारीले विदाइ गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौंपटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।

भ्रमण दलमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा तथा कृषिमन्त्री महेन्द्र राय यादव सहभागी हुनुहुन्छ । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीगरी करिब ५० जनाको टोलि रहेकोछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने र दुई देशका प्रधानमन्त्रीले जनकपुर– जयनगर रेलको उद्घाटन गर्नेलगायत कार्यक्रम तय भएको छ । आजदेखि तीन दिनसम्म चल्ने भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले दुई देशको सम्बन्ध सुधार तथा विकास, व्यापारसहितका क्षेत्रमा साझेदारीका लागि पुराना सम्झौता अघि बढाउने तथा नयाँ सम्झौता पनि गर्ने बताइएको

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा देउवाले भारतका विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल चैत २० गते साँझ ६ः१० मा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।