फाइल तस्वीर
काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत भएसँगै सुरुङमा पानी पठान्तरणको काम परीक्षणको रुपमा सुरु भएको छ । गत असार १ गते मेलम्चि खोलामा आएको आउको भिषण बाढी र पहिरोले पुरेर क्षतिग्रस्त भएको मेलम्चिको सुरुङको सफाई कार्य अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो बिहीबार मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाउन थालिएको हो । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद न्यौपानेका अनुसार आयोजनाको मुख्य ढोका खोलिएको र सफाईको काम अन्तिम चरणमा पुगेकोले परीक्षणका लागि पानी पठाउन थालिएको जानकारी दिनुभयो । इन्जिनियर न्यौपानेका अनुसार मुख्य ढोकाबाट परीक्षणका लागि पठाएको पानी नौ नम्बर हेडवक्र्स र अम्बाथानतर्फको १७ नम्बर ढोकाबाट बाहिर पठाइको छ । गत असार १ र साउन १७ गते आएको बाढीले आयोजनाका प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८ सय ५ मिटर सुरुङ गेग्य्रानसहितको लेदोले पुरेर क्षति बनाएको थियो ।

बाढीले आयोजनाका मुख्य ढोका क्षतिग्रस्त बनाउनुको साथै बाहिरी भागसमेत पुरेका कारण आयोजना पूर्ण रूपमा बन्द भएको थियो । क्षतिग्रस्त ढोकाहरू खुला गरी सुरुङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने आयोजनाले जनाएको छ । बाढीले क्षतिग्रस्त बनेका सुरुङभित्रका ढोकाको मर्मत गर्ने भारतीय कम्पनी ‘पिरिसिजन इन्डिया लिमिटेड’ (पीआईएल) का प्राविधिकमार्फत् भइरहेको समितिले जनाएको छ ।

नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सफाइ तथा मर्मत गरी यही चैत मसान्तभित्र काठमाडौँको सुन्दरीजलमार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ । विभागीयमन्त्री चौधरीले आयोजनाको काम समय अगावै सक्ने गरी कार्ययोजना नै बनाएर काम गर्न निर्देशन दिनुभएको थियो । आयोजनाको सुरुङ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाई तथा मर्मतको काम तोकिएको समयभित्र पूरा गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत २४ घण्टा नै काम गरिरहेको छ । सिनो हाइड्रोका नेपाल प्रतिनिधि कृष्णकुमार तामाङ ‘समीर’का अनुसार निर्धारित समयभन्दा पहिले नै सक्ने गरी काम भइरहेको छ ।