काठमाडौं— नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी हुनुभएको छ । पर्यटन व्यवसायीको पुरानो छाता सङ्गठन नाट्टाको बिहीबार सम्पन्न ५५ औं वार्षिक साधारणसभा एवम् २३ औं निर्वाचनमा आज शुक्रबार बिहान सम्पन्न मतपरिणामअनुसार आफ्ना प्रतिस्पर्धी विनय बस्नेतलाई हराएर रमेश थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा नवनिर्वाचित थापा थापा मनसुन ट्राभल्स एण्ड टुर्स प्रा.लि.का सञ्चालक हुनुहुन्छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रमोद ढकाल, उपाध्यक्षमा वल्र्डवेज टुर्स एण्ड ट्राभल्सका सञ्चालक वरुण मेहता, महासचिवमा प्रिसियस ट्राभल्स एण्ड टुर्सका सञ्चालक कुमारमणि थपलिया, सचिवमा शाहस होलिडे इन्टरनेशनलका सञ्चालक युविका भण्डारी, कोषाध्यक्षमा वल्र्ड फेभर ट्राभल्स एण्ड टुर्सका सञ्चालक राजकुमार देवकोटा र सहकोषाध्यक्षमा रियान ट्राभल्स एण्ड टुर्सका सञ्चालक गीता ढकाल (रेजु) निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका सञ्चालक विष्णु पाण्डे, होलिडे एडभेञ्चर टुर्सका सञ्चालक ढकनाथ काफ्ले, अक्सफोर्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक नमराज भेटवाल, प्रिजेन्ट ट्राभल्सका सञ्चालक पर्शुराम घिमिरे, अस्विता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका सञ्चालक रामशोभित नायक, इन्द्रा ट्राभल्स एण्ड टुर्सका सञ्चालक सवला भण्डारी, डालिमा टुर्स एण्ड ट्राभल्सका सञ्चालक डेन्डी शेर्पा र एएनटी होलिडेका सञ्चालक श्रद्धा जोशी विजयी हुनुभएको नाट्टाले जनाएको छ ।

नाट्टामा दुई समूहबीच चुनावी प्रतिस्पर्धा भएको थियो । देशभरका दुई हजारभन्दा बढी टुर्स एण्ड ट्राभल्स भए पनि निर्वाचनका लागि ४ सय ४९ वटा टुर्स एण्ड ट्राभल्सको मात्रै सहभागिता रहेको थियो । रासस