फाइल तस्वीर ।
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारतको तीनदिने सद्भाव भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जानलाग्नु भएको हो ।प्रधानमन्त्री देउवाको यो भ्रमण राजकीय नभै सद्भाव भ्रमण हो ।

भ्रमण कार्यक्रमअनुसार शुक्रबार दिउँसो २:५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुहुने छ । प्रधानमन्त्री देउवाले आजै अपरान्ह ४:३० बजे भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग होटल आइटीसीमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यसबाहेक प्रधानमन्त्री देउवाको आजको कार्यक्रमबारे खासै उल्लेख गरिएको छैन ।

भोलि १९ गते शनिबार स्थानीय समयअनुसार बिहान १०:४० बजे प्रधानमन्त्री देउवा राजघाट जानुहुनेछ र त्यहाँ उहाँले माल्यार्पण गर्ने कार्यक्रम छ । त्यहपछि दिन ११:१० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जर्नाको छ ।

मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२P१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । हस्ताक्षर कार्यक्रमपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ ।

प्रधानमन्त्री देउवाले भोलि शनिबार नै अपरान्ह ४:३० बजे भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुहुनेछ । प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी जानुहुने र त्यहाँबाट पुनः नयाँदिल्ली फर्केर अपरान्ह ४:१५ बजे स्वदेश फर्कने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।