फाइल तस्वीर
काठमाडौं– सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा तीन जना प्रहरी अधिकृतको बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकको आज बसेको बैठकले तीन जना डिआईजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

डिआइजीबाट एआइजीमा बढुवा हुनुहुने प्रहरी अधिकृतहरुमा वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुक हुनुहुन्छ । बढुवा भएका तीनैजना प्रहरी अधिकारीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह लगाइदिनु भएको हो । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बढुवा हुनेभएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।

गृह मन्त्रालयले गत १ चैतमा तीनै जना डिआइजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसविरुद्ध अन्य तीन जना डिआइजीले उजुरी गरेपछि बढुवामा ढिलाइ भएको थियो । उजुरी सुन्ने समितिले सिफारिसलाई सदर गरेसँगै मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

यसैबीच एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध आजै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बढुवामा आफु नपरेपछि डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दिनुभएको हो । उक्त रिटमा चैत २० गते आइतबार सुनुवाइ हुने सर्वोच्चले बताएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।