फाइल तस्वीर
काठमाडौं – सत्ता गठबन्धन दलहरुबीच स्थानीय तह निर्वाचनमा वडा तहदेखि नै तालमेल गरेर जाने निर्णय गरेका छन् । आज बिहान बसेको गठबन्धन दलहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्न वडा तहसम्मै संयन्त्र निर्माण गर्ने भएका छन् । उक्त संयन्त्रले गरेको सिफारिसरको आधारमा केन्द्रीय तहबाटै तालमेलको अवधारणा बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले उक्त सहमति गरेको हो ।

आज बसेको बैठकले सत्ता गठबन्धनभन्दा बाहिर गएर अन्य दलहरुसँग चुनावी तालमेल नगर्नेसमेत निर्णय गरेको बताइएको छ । गठबन्धनमा आवद्ध एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मुलुक बाहिर जानुभएकोले आजको बैठकमा उहाँ उपस्थित हुन नहुनु भएका कारण यसबारेमा औपचारिक निर्णय गर्न बाँकी छ । सत्ता गठबन्धनको बिहीबार साँझ पुनः बैठक बस्नेछ । उक्त बैठकले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच हुने चुनावी तालमेलको अवधारणा बनाएर बैठकबाट पास गर्ने स्रोतको भनाइ छ ।

चुवानी तालमेलको अवधारणा बनाउने पाँच दलका दोस्रो तहका नेताहरु अहिले बालुवाटारमै बसेर गृहकार्य गरिरहेका छन् । ‘बिहानको बैठकले वडा तहसम्मै चुनावी तालमेलको लागि संयन्त्र बनाउने सहमति गरेपछि दोस्रो तहका नेताहरु गृहकार्यमा जुटेका हुन् । दोस्रो तहका नेताहरुले तयार गर्ने अवधारणा बिहीबार साँझ बस्ने बैठकमा प्रस्तुत गरिने भएको छ । नेपाली काङ्ग्रेसले संस्थागत रुपमै स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेपछि सत्ता गठबन्धनमा आवद्ध दलहरु उत्साहित भएका छन् ।