फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका साथै केही निर्र्णयहरु गर्न बैठक बसेको बताइएको छ ।

मन्त्रिपरिषद् बैठक बिहानदेखि बसिरहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताउनु भयो । स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने भएकाले आजको बैठकले केही महत्वपूर्ण निर्णय नियुक्त लिने बुझिएको छ । प्रधानमन्त्री देउवा भोलि छिमेकी मुलुक भारतको दुई दिने भ्रमणमा जाँदै हुनुहुन्छ ।

यसैगरी प्रधानमन्त्री देउवाले आजै सत्तागठबन्धन दलको बैठक पनि राख्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नै सत्ता गठबन्धनको बैठकको तयारी भैरहेको छ । स्थानीय निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल गरेर एक खालको मोडालिटी तयार गर्न छलफल केन्द्रीत हुने बताइएको छ ।

नेपाली काङ्ग्रेसले स्थानीय आवश्यकता अनुसार सत्तासाझेदार दलहरुसँग चुनावी गठबन्धन गरेर निर्वाचनमा जाने संस्थागत निर्णय गरिसकेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि चुनावी गठबन्धन गरेर जानु पर्नेमा जोड दिंदै आएका छन् ।