फाइल तस्वीर
काठमाडौं – ग्याँस उद्योगहरुले आजबाट ग्याँग विक्री वितरणको कार्य बन्द गर्ने भएका छन् । नेपाल आयल निगमले कमिसन कटौती गरेको भन्दै विरोधमा उत्रिएका ग्याँस उद्योग व्यवसायीहरुले आजदेखि विक्रेताहरुलाई ग्याँस विक्री वितरण नगर्ने बताएका छन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ र नेपाल एलपी ग्याँस उद्योग सङ्घले कमिशन कटौतीको विरोधमा संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आजदेखि एलपी ग्याँस उद्योगीहरुले बिक्रेतालाई बिक्री वितरण बन्द गरेका हुन् ।

नेपाल आयल निगमले पाउँदै आएको कमिशन कटौतीको निर्णय नसच्याए चैत २० गते आइतबारदेखि देशभर ग्याँस र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिएका छन् ।

निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिंदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो । उक्त कमिशन पाउनुपर्ने र २०७७ मंसिर १८ गतेबाट स्थगन गरिएको प्राविधिक नोक्सानीका सम्बन्धमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको अध्ययन समितिको प्रतिवेदनअनुसार लागु गर्नुपर्ने मुख्य माग राखेर उनीहरुले चैत ५ गतेदेखि आन्दोलन गर्दै आएका छन् ।

पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार चैत ६ गतेबाट सबै एलपी ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट पीडीओ खरिद रोकेका थिए । यस्तै एलपी ग्याँस उद्योगहरुले चैत १४ गतेदेखि सबै नाकाहरुबाट भन्सार छुटाउने काम रोकेका थिए ।