फाइल तस्वीर
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मुख्यमन्त्री कुलप्रसाद केसीले मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले राजीनामा मागेको हो ।

एमालेले पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको राजीनामा र ठेक्का प्रक्रिया रद्द गरेर मात्रै सरकारको कुनियत हट्न नसक्ने भनेको छ । लुम्बिनी प्रदेशसभा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले पत्रकार सम्मेलनमार्फत् ‘ठेक्का प्रक्रियामा सेटिङ भएको भन्दै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङमा मुख्य जिम्मेवार मुख्यमन्त्री कुलप्रसाद केसी हुनुहुन्छ, त्यसैले उहाँले पदबाट राजीनामा दिनु पर्छ भन्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले नेपाली काङ्ग्रेस, जनता समाजवादी दल लगायतको समर्थनमा माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताले केसी मुख्यमन्त्री बनेयता लगातार विवादास्पद काम गर्नुका साथै सङ्घीयता शासन प्रणालीप्रति वितृष्णा बढाउने काम गरेको आरोप लगाएको छ ।