फाइल तस्वीर
काठमाडौं — महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र रणनीतिका बारेमा छलफल गर्न बबरमहलस्थित पार्टी कार्यालयमा आज १ बजेका लागि बैठक बोलाइएको हो ।
प्रतिनिधिसभाका सददस्य समेत रहनुभएका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने बताउनु भएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकमा देशको समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने नेता कर्णले जानकारी गराउनु भएको छ । लोसपा सरकारमा सहभागी हुने विषयमा केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको थियो । निर्वाचनको सङ्घारमा लोसपा सरकारमा गएर तराईमा केही सन्देश दिन चाहेको आङ्कलन गरिएको छ ।
लोसपाले आगामी निर्वाचनमा एमालेसँग गठबन्धन गर्न सक्ने एकथरिको विश्लेषण पनि छ । तर लोसपा सरकारमा गए एमालेसँग चुनावी तालमेल हुने सम्भावना न्यून देखिन्छ ।