काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश श्रेष्ठलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएकोे हो ।

यसअघि आज मङ्गलबार नै प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम सर्वोच्च अदालतको न्यायाधीशको नियुक्तिका लागि सर्वसम्मत रुपले अनुमोदन गरेको थियो । फागुन २६ गते बसेको न्यायपरिषद्को बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । नवनियुक्त न्यायाधीश श्रेष्ठले आजै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।