फाइल तस्वीर
काठमाडौं– नेपाली काङ्ग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको चुनावमा गठबन्धन गर्ने नीतिगत निर्णय गरेको छ । बैठकले परिस्थिति हेरी स्थानीय आवश्यकता अनुसार गठबन्धन गरेर जाने नीतिगत निर्णय गरेको हो ।

आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ दल नेपाली काङ्ग्रेसभित्र दुई धार देखिएको थियो । संस्थापन पक्ष सत्ताघटक दलहरुसँगै गठबन्धन गरेर तीनै तहको निवार्चनसम्मसँगै जानु पर्ने पक्षमा उभिएको थियो भने नेता शेखर कोइरालाले नेतृत्व गर्नुभएको संस्थापनइतर पक्ष भने कुनैपनि हालतमा गठबन्धन गरेर जान नहुने भन्दै आएको थियो ।

आजको बैठकले भने संस्थापन पक्षको लाइनअनुसार नै गठबन्धन गर्ने सैद्धान्तिक निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताउनु भयो । शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमितिको निर्णयबारे जानकारी दिँदै प्रवक्ता महतले ‘स्थानीय परिस्थिति र आवश्यकता हेरेर गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ’ भन्दै गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय तहमा संयन्त्र बन्ने जानकारी गराउनु भएको थियो ।
शुक्रबारदेखि पाँचदिनसम्म चलेको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मङ्गलबारबाट सकिएको छ ।