काठमाडौं – आगामी स्थानीय निर्वाचनको लागि गठबन्धन गर्ने विषयलाई लिएर नेपाली काङ्ग्रेस भित्र ठूलो मतभेद उत्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको संस्थापन पक्ष र नेता डा. शेखर कोइरालाले नेतृत्व गर्नुभएको संस्थापनइतर पक्षबीच गठबन्धनको एजेण्डालाई लिएर विवाद चर्किदै गएको छ । संस्थापनइतर पक्षले सभापति शेरबहादुर देउवाले ४० प्रतिशत मतलाई बेवास्ता गर्दै एकलौटी अघि बढ्न खोजेको भन्दै खबरदारी गरेको छ ।

प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले काङ्ग्रेको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ र तरण दलको नेतृत्व एकलौटी बनाएको विरोधमा हिजो सोमबार कोइराला पक्षका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिले खबरदारीसभा गरेका थिए । त्यसको समीक्षा गर्न आज मङ्गलबार कांग्रेस महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा बैठक नेविसंघ पूर्वअध्यक्ष रञ्जीत कर्णले जानकारी दिए । कर्णका अनुसार समीक्षा बैठकले चारवटा निष्कर्ष निकालेको छ ।

संस्थापनइतर पक्षले संस्थापन पक्षमाथि विभिन्न आरोप लगाउँदै यी चार बुँदाको निष्कर्ष निकालेर दवाव बढाउने भएको छ ।
१. १४ औं महाधिवेशनमा प्राप्त ४० प्रतिशतभन्दा बढी मतलाई सभापतिले बेवास्ता गरेर एकलौटी ढङ्गले अगाडि बढ्न खोजेकाले बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था बन्यो ।
२. संसदीय समिति गठनगर्दा डा.शेखर कोइराला समूहका वरिष्ठ नेताहरूलाई नसमेट्ने हो भने पार्टी नेतृत्वविरुद्ध देशैभर आन्दोलन गर्नुको विकल्प हुँदैन ।
३. भातृ संस्थालगायत आउँदो तीनै तहका निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्यवस्थापन नगर्ने हो भने चुनाव जित्ने होइन, पार्टीभित्रै विद्रोह हुने अवस्था छ ।
४. सभापति चरम गुटबन्दीमा लागेका छन् । सभापति देउवाले पार्टी भित्रको अपोजिसनलाई कमजोर पार्न बूढा नेताहरूको गठजोड तयार पारिरहेका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठक चलिरहेकै बेला संस्थापनइतर पक्षले गठबन्धन विरोधी स्वरहरु घन्काइरहेका छन् । आज दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनको बारेमा निर्णय गर्नेछ ।