युक्रेनी वार्ता टोली टर्कीमा तस्वीर: गेट्टी इमेज
स्तानाबुल– युक्रेनमा जारी युद्धलाई रोक्न आज युक्रेन र रुसी वार्ता टोलीबीच टर्कीको राजधानी स्तानबुलमा वार्ता हुँदैछ । वार्ता गर्न युक्रेनी टोलि स्तानबुल पुगिसकेको छ । यी युद्धरत दुवै रुस र युक्रेनका वार्ता टोलीबीच आज मङ्गलबार स्तानबुलमा वार्ता हुन लागेको हो ।

युक्रेनी वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभले गरेका छन् । यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोल्याक पनि वार्ता टोलीमा छन् । दुई हप्ताभन्दा लामो समयपछि युक्रेन र रुसको टोलीबीच पहिलोपटक भौतिक उपस्थितिमा वार्ता हुन लागेको हो । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानको उपस्थितिमा दुई देशबीच वार्ता हुन लागेको हो । वार्ता नेपाली समय अनुसार दिउँसो पौने १ बजे हुनेछ ।

वार्तामा रुसले युक्रेनसँग उ नेटोमा सामेल हुने मनसाय त्याग्न माग गर्ने बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नेटोमा सामेल हुने नहुने बारे सोच्न सकिने बताएका छन् । रुसको चाहना आफ्नो छिमेकी देश युक्रेन नेटोमा आवद्ध नहोस् भन्ने उसको मुख्य माग रहँदै आएको छ । यस्तै पृथकतावादीको कब्जामा रहेको क्राइमियासहितका स्थानलाई औपचारिक रुपमा स्वतन्त्र राष्ट्रको रुपमा विभाजिन भएको घोषणा गर्न पनि रुसले माग गर्दै आएको छ ।

यदि युक्रेनले आफु नेटोमा आवद्ध नहुने र क्राइमियासहितका स्थानलाई स्वतन्त्र भएको घोषणा गर्न मञ्जुर गरेमा रुस र युक्रेनबीचको जारी युद्ध अन्त्य हुने सम्भावना बलियो छ । आज टर्कीमा हुने दुई देशबीचमा वार्तामा यस विषयमा छलफल हुने बताइएको छ ।

रुसले युक्रेनमा गएको फेब्रअरी २४ तारिकदेखि निरन्तर आक्रमण गर्दै आएको छ । दुई देशबीच अहिलेसम्म भएका वार्तामा ठोस सहमति भएको छैन । मार्च ७ तारिकमा पनि यी दुई देशबीच वार्ता भएको थियो ।

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पटक पटक आग्रह गर्दै आएका छन् । उनले रुससँग लड्न युरोपमा खिया लागेर बसेका आधुनिक हात हतियार समेत रुस विरुद्धको लडाईका निम्ति युक्रेनलाई उपलब्ध गराइदिन समेत आग्रह गरिरहेका छन् । युक्रेनी राष्ट्रपतिको यो भनाइलाई आधार मान्ने हो भने आजको वार्ताबाट सार्थक परिणाम आउन सक्ने सम्भावना न्यून छ । युक्रेन अमेरिकी र युरोपियन युनियनबाट हतियार सहितको साथ र समर्थन पाए रुससँगको लडाई जारी राख्न चाहन्छ भन्ने पनि हो ।