फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले खतरनाक योजना बनाउने गरेको आरोप लगाउनु भएको छ । अध्यक्ष नेपालले सोमबार काठमाडौंमा युवा सङ्घ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

ओलीले राजावादी शक्तिहरुसँग भेटेर सुनियोजित षडयन्त्रको तानावाना बुन्ने खेलमा लागेको भन्दै अध्यक्ष नेपालले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको जिकिर समेत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले ‘जब गणतन्त्रको बारेमा हाम्रो पार्टी केन्द्रीय कमिटीमा बहस गरिरहेका थियौं । पार्टीको केन्द्रीय नेतृत्वभित्र नै विवाद भयो । पुराना नेताहरु मध्येका नेताहरुले नै गणतन्त्र ल्याउन सम्भव छैन भने, ‘तर केन्द्रीय कमिटीको अत्याधिक बहुमतले गणतन्त्र ल्याउन सम्भव छ भन्यो । सम्भव छ भन्ने कुराको अगुवाई मैले गरें । सम्भव छैन भन्ने कुराको अगुवाई केपी ओलीले गरे’– भनेर आफ्नो धारणा व्यक्त गर्नुभयो ।

तत्कालीन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भए पनि उनीहरुबाट धोका पाएको नेता नेपालको भनाइ थियो । ‘दश भाइको साहारामै म अगाडि बढेको थिएँ र सहयोग पनि गरेका हुन् । चुनौती दिने बेलामा पनि साथ दिएकै हुन्, भन्दै अध्यक्ष नेपालले ‘तर ऐन, मौकामा धोका दिने स्थिति बन्यो । एक्लो म रहनुपर्ने स्थिति बन्यो’ भन्नुभयो ।

अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेका छन् भन्दै उनीहरुलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै दशभाइ जसरी अपमान र बेइजति सहेर बसेका छन्, त्यसैगरी बेइजत नहुनका लागि आफुले एमाले छाडेको दावी गर्नुभयो । अध्यक्ष नेपालले ‘किन पार्टी फोड्नु भयो त ? किन पार्टीबाट अलग हुनु भयो त ? किन केपी ओलीसँगै बस्नु भएन त ? भनेर प्रश्नहरु तपाईहरुको बिचमा उठ्ने गर्दाहोलान् । तर प्रमाण आफैं पर्याप्त छ, ‘कमिटीमा एक शब्द बोल्न नदिने कुरा देखिसकेपछि, छलफल, परामर्श हुन नदिने स्थिति देखेपछि त्यहाँ बेइजत हुनका लागि हामी बस्नुपर्थ्यो त ? त्यहाँ त हातपात गर्न पनि बेर छैन’ भन्दै एमाले प्रति चर्को आक्रोश व्यक्त गर्नुभयो ।

एमालेमा नेताहरुको मानमर्दन गर्नका लागि गुण्डा जमात तयार गरेको भन्दै अध्यक्ष नेपालले ‘नेताहरुको मानमर्दन गर्नलाई त छँदैछ, साइबर स्याल,’ उनले भने ‘त्यसको अग्रपंक्तिमा केपी ओली बसेका छन् । जसले अरु कसैको मान, मर्यादा, इज्जत, प्रतिष्ठा, कदर केही पनि गर्दैन’ भन्नुभएको छ ।

अध्यक्ष नेपालले समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा पार्टी उभिएमा वामदेव गौतमले समाजवादीमा आउन चाहेको खुलासा गर्नुभयो । तर केपी ओलीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएर पाँच वर्ष चलाउन पाए आफूहरुको हड्डी जाँतोमा पिसेर सिध्याइदिने भन्दै त्यसो गर्न नसकिने जवाफ दिएको अध्यक्ष नेपालको भनाइ थियो ।