फाइल तस्वीर
ललितपुर – सत्तारुढ दल नेपाली काङ्ग्रेसले आगामी स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा आज सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने पार्टी प्रवक्ता प्रकाशशरण महतले बताउनु भएको छ । प्रवक्ता महतले बताए अनुसार आजको बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय गर्ने छ ।

आज बस्ने कार्यसमितिको बैठकमा पदाधिकारीले धारणा राखेर आजै बैठक टुङ्ग्याउने तयारी छ । शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काङ्ग्रेस जिताऔं’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ गरेको छन् ।

रिपोटिङ गर्नेक्रममा ६ जना प्रदेश सभापतिले पनि आफ्नो प्रदेशका बारेमा रिपोटिङ गरिसकेका छन् । आइतबार अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने कार्यक्रम रहेको छ ।

सभापति शेरबहादुर देउवा निकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको पक्षमा र नेता शेखर कोइराला समूहका नेताहरुले तालमेलको विपक्षमा मत राखेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् । बैठकमा संसदीय समिति गठबन्धनको एजेण्डा रहेपनि छलफल गठबन्धन केन्द्रित छ ।