फाइल तस्वीर
काठमाडौं – निर्वाचन आयोगले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको तयारी सुरु गरेको छ । आयोगले मतपत्र छपाइको जिम्मा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिएको छ । मतपत्र छपाइको काम तत्काल सुरुहुने आयोगले जनाएको छ ।

मतदाता नामावली हिजो सार्वजनिक गरेपछि अब मतपत्र छपाइको काम सुरुगर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताउनु दिनुभयो । प्रवक्ता पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छाप्ने आयोगले निर्णय गरिसकेको छ । मतदाताभन्दा १०÷१५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने भएकाले त्यसैअनुसार तयारी भएको आयोगले जनाएको छ ।

आयोगले हिजो सार्वजनिक गरेको विवरणअनुसार देशभर मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ रहेको छ । आयोगले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पनि तोकिसकेको छ ।

साना दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय भएको छ । राष्ट्रिय मान्यताप्राप्त दललाई मात्र चुनाव चिह्न दिने कानुनी व्यवस्थाको साना दलले विरोध गरेपछि आयोगले साना दललाई पनि उनीहरुकै चिह्न दिने निर्णय गरेको हो । जिल्लाहरुमा साना दलको उपस्थितिको आधारमा चुनाव चिह्न दिइने निर्वाचन आयोगले जनाएको छ ।