फाइल तस्वीर
ललितपुर— नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि ११ बजे बस्दै छ । पार्टी कार्यालयमा सानेपामा बस्ने बैठकमा आज पनि स्थानीय निर्वाचनकै विषयमा छलफल केन्द्रीत हुने बताइएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा ’घर घर जाऔं, नेपाली काङ्ग्रेसलाई जिताऔं’ भन्ने अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिले पार्टीको बैठकमा रिपोटिङ् गरेका छन् ।

शुक्रबार भएको केन्द्रीय कार्यसमितिको बैठकमा २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको रिपोर्टिङ गर्नुभएको थियो । उक्त दिन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ६ वटा प्रदेश सभापतिहरु बैठकमा आ–आफ्नो धारणा राख्नु भएको थियो । आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ । अधिकाङ्श केन्द्रीय प्रतिनिधिले स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने पक्षमा राय राख्नुभएको प्रवक्ता प्रकाशशरण महतले बताउनु भयो ।

बैठकमा चुनावी गठबन्धन र घोषणापत्रबारे छलफल हुनेछ । बैठकले स्थानीय तहका उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने गर्ने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा महामन्त्री गगन थापा नेतृत्वको गठन गरिएको ’स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति’ लाई काङ्ग्रेसको बैठकले पूर्णता दिनेछ ।