काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यी अपराह्न नेपाल ओर्लिएपछि विभिन्न दस वटा विषयहरुमा सहमति गरी हस्ताक्षर गर्ने तयारी भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा नेपाल आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ तीन दिने नेपाल भ्रमणमा आउनु भएको हो ।

विदेशमन्त्री वाङको नेपाल भ्रमणका क्रममा विभिन्न दश वटा सहमतिमा दुई पक्षीय हस्ताक्षर हुने छ । जसमा चीनले नेपाललाई उपलब्ध गराउँदै आएको वार्षिक सहायतामा वृद्धि गर्ने भएको छ । चीनले नेपाललाई वार्षिक १३ अर्ब रुपैयाँको सहायता उपलब्ध गराउँदै आएकोमा उक्त सहायता राशिलाई बढाएर १५ अर्ब रुपैयाँ पु¥याउने भएको छ ।

यसैगरी केरुङ–रसुवागढी सीमापार रेलको विस्तृत सम्भाव्यता अन्तर्गत प्राविधिक पक्षबारे सहमति पत्रमा समेत भ्रमणका क्रममा भोलि शनिबार हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यस्तै ऊर्जासम्बन्धी परियोजनाका साथै मुस्ताङस्थित कोरला सीमा नाका सुचारु भएको घोषणा गर्ने सहमति पत्रमा पनि हस्ताक्षर गर्ने तयारी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सोही क्रममा भरतपुर क्यान्सर अस्पतालसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ । नेपालबाट चीनतर्फ विकासे घाँस निर्यात गर्नेसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने छ भने नेपाली विद्यार्थीलाई चीनमा चाँडै फर्काउन तयार रहेको घोषणा परराष्ट्रमन्त्री नारायण खड्कासँगको द्विपक्षीय छलफलका क्रममा गर्ने भएका छन् ।

विदेशमन्त्री वाङले चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन काठमाडौंबाट भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा घोषणा भएको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयनको विषयमा छलफल हुने तय भएको परराष्ट्र अधिकारीहरुले बताएका छन् । यस विषयमा भने औपचारिक सम्झौता भएको छैन ।

चीनको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका सम्बन्धमा के हुन्छ भन्ने बारेमा परराष्ट्रका अधिकारीहरुले खुलाएका छैन् ।