चिनियाँ विदेशमन्त्री वाङ यी, फाइल तस्वीर ।
काठमाडौं – परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा आज शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यी परराष्ट्रमन्त्री खड्काको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउन लाग्नु भएको हो ।

विदेशमन्त्री वाङको नेपाल बसाइको क्रममा दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनका लागि सहमति गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा चीनको महत्वाकाङ्क्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरु कार्यान्वयनमा आउन नसकेको अवस्थामा हुन लागेको चिनियाँ विदेशमन्त्रीको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

नेपालले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी कम्प्याक्ट अनुमोदन गरेको एक महिनापछि हुन लागेको चिनियाँ विदेशमन्त्रीको यो भ्रमणलाई अर्थपूर्ण ठानिएको छ । नेपालको तीन दिने बसाईका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पर्सी आइतबारसम्म नेपाल भ्रमणमा रहनु हुने चिनियाँ विदेशमन्त्री वाङसहितको प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्री डा. नारायण खड्कासम्मिलिन नेपाली टोलीका बीच द्विपक्षीय छलफल हुनेछ । पाकिस्तान र अफगानिस्तानको भ्रमण गरी आज नेपाल आउनु हुने चिनियाँ विदेशमन्त्री वाङ यी भारतको नयाँदिल्ली हुँदै शुक्रबार दिउँसो तीन बजे काठमाडौं आइपुग्नुहुने बताइएको छ ।