फाइल तस्वीर
काठमाडौं – स्थानीय तहको निर्वाचन जति नजिकिंदा गएको छ, पार्टीका शीर्ष नेताहरुमा तनाव बढ्दै गएको छ । आगामी निर्वाचनमा स्थानीय तहदेखि सङ्घीयसम्मको निर्वाचनमा ७० प्रतिशतसम्म जित हालित गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति गलत सावित हुने एमालेकै प्रदेश कमिटीका अध्यक्षहरुको रिपोर्टिङले बताएको छ ।

स्थानीय तह निर्वाचनमा एमाले २ सय ५१ जित्न सक्ने एमालेका प्रदेश कमिटीका प्रमुखहरुले पार्टी केन्द्रीय कमिटीको बैठकमा यस्तो धारणा प्रस्तुत गरेको थिए ।हिजोदेखि सुरु भएको बैठकको पहिलो दिन रिपोर्ट पेस गर्ने ६ प्रदेश प्रमुखहरुले उक्त दावी गरेका हुन् ।

सात वटै प्रदेशका अध्यक्षले गरेको रिपोर्टिङमा शक्ति सन्तुलनका आधारमा प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रदेशमा एमाले बलियो र काङ्ग्रेस दोस्रो स्थानमा रहेको बताएका छन् । मधेस प्रदेशको राजनीतिक तरलताका कारण त्यहाँको यर्थाथता अहिले आउन सकेको छैन ।
एमाले अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर १ मा केही बलियो देखिएको छ । बैठकमा प्रदेश नं. १ का अध्यक्ष तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशका रामअवतार यादव, बाग्मतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोदकुमार शाह र सुदूरपश्चिमका दामोदर भण्डारीले रिपोर्टिङ हिजोको बैठकमा आ–आफ्नो कार्य क्षेत्रको बारेमा रिपोर्टिङ गरेका थिए।

एमाले विभाजन भएता पनि त्यसबाट पार्टीलाई खासै क्षति नपुगेको र एकीकृत समाजवादीको असर र प्रभाव ज्यादै न्यून रहेको उनीहरुको निष्कर्ष रहेको देखिन्छ । यता मधेस प्रदेशमा अन्य दलबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको र पहिलेको भन्दा परिस्थिति झन मजबुध बन्दै गएको मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवको भनाइ छ ।

यता बागमती प्रदेशमा १ सय १९ स्थानीय तहमध्ये ८० मा एमालेले जित्ने दाबी प्रदेश अध्यक्ष केशव पाण्डे गरेका छन् भने गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले अघिल्लो निर्वाचनमा भन्दा यसपटक केही सिटमा थप जित्न सक्ने बताएका छन् । गत निर्वाचनमा ३९ स्थानीय तहमा जितेको एमालेले अहिले थप सिटमा जित्ने, तर गठबन्धन दलहरु मिलेर उठेको खण्डमा एमालेले १२ भन्दा बढिस्थानका सिट गुमाउनु पर्ने अवस्था आउन सक्ने बताएका छन् ।

लुम्बिनी प्रदेशमा पनि गठबन्धन दलहरुको एकै ठाउँमा उभिएको खण्डमा एमाले ४१ खुम्चिने त्रास रहेको उक्त प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलको निष्कर्ष छ । कुल १ सय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा गठबन्धन नभएको अवस्थामा एमाले एक्लैले ६५ स्थानीय तहमा जित्ने लुम्बिनी प्रदेश कमिटीले प्रक्षेपण गरेका छन् ।

विगतको तुलनामा एमालेले सीट संख्या बढाउने कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको भनाइ रहेको छ । केन्द्रीय कमिटीको बैठकमा उनले ७९ पालिकामध्ये २९ वटा पालिका जित्ने बताएका छन् । जवकी अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले २७ पालिका जितेको थियो । सत्ता गठबन्धन बनेमा १५ वटामात्रै जित्ने सकिने उनको आङ्कलन रहेको छ ।

सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारीले आफूहरुको अवस्था २०७४ सालको भन्दा राम्रो रहेको बताए। उनले गठबन्धन नभएमा आफूहरुले ३८ पालिकाको नेतृत्व जित्ने बताएका छन् । गठबन्धन भयो भने आफूहरुले २३ पालिकाको नेतृत्व जित्ने र ४६ पालिकामा आफूहरु प्रतिस्पर्धी बन्ने अध्यक्ष भण्डारीको रिपोर्टिङ छ । उनले १९ वटा पालिकामा भने एमालेको अवस्था कमजोर रहेको बताएका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पनि दलसँग सहकार्य नगर्ने एमाले अध्यक्ष ओलीका अभिव्यक्ति आइहेका छन् । नेपाली काङ्ग्रेसको संस्थापन पक्ष नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका पार्टीसँग गठबन्धन गरेर निर्वाचनमा जाने बताइ रहेको छ भने संस्थापन इतरपक्ष कुनै पनि हालतमा गठबन्धन गर्न नहुने भनिरहेको छ । यदि स्थानीय निर्वाचनमा गठबन्धन दलहरु मिलेर जान नसके नेपाली काङ्ग्रेसलाई थप नोक्सानी हुने देखिन्छ । यसको फाइदा एमालेलाई पुग्न सक्दछ ।