फाइल तस्वीर
काठमाडौं – पूर्ववर्ति सरकारका पालामा संवैधानिक आयोगहरुमा भएका नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहनुभएको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तीका विरुद्धको सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि समेत सुनुवाइ हुने छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरिएका विभिन्न आयोगहरुका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
अधिवक्ता रेग्मीद्वारा दायर भएको उक्त रिटमाथि सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न २०७८ भदौ १७ गते आदेश दिनुभएको थियो ।
न्यायाधी फुयालको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ती विरुद्धमा परेको मुद्दा अघि बढ्न सकेको थिएन । गत शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो । सुनावाइका क्रममा संवैधानिक इजलासले दुवै पक्षलाई एक÷एक घण्टाको समय छुट्याइएको छ । समय अपुग भएको खण्डमा दुवै पक्षले आधा÷आधा घण्टाको थप समय पाउनेछन् ।