जनकपुरधाम– चुनावी अभियानमा लाग्नु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले माओवादीले चुनाव हारे देश नै हार्ने बताउनु भएको छ । मधेस प्रदेश स्तरीय राजनीतिक प्रशिक्षणका निम्ति जनकपुर पुग्नुभएका प्रचण्डले आफ्ना कार्यकर्तामाझ यस्तो धारणा राख्नु भएको हो ।

जनकपुरधाममा आयोजित मधेस प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तहको चुनावलाई केवल चुनावको रुपमा मात्रै नभै एक खालको युद्धको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । दशवर्षे जनयुद्ध र उन्नाइसदिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षाका निम्ति पनि माओवादी केन्द्रले चुनाव जित्नै पर्ने बताउनु भएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ‘माआवादीले हारे देश हार्छ, सहिदको सपना हार्छ, सङघीय लोकतान्त्रिक गणतन्त्र हार्छ’ भन्नुभयो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ठूलो लडाइँको रुपमा लिन आग्रह गर्दै अध्यक्ष प्रचण्डले कार्यकर्ताहरुलाई सोहीअनुसार चुनावको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । उहाँले ‘आगामी निर्वाचन अन्य दलको लागि निर्वाचन हो । तर हाम्रो लागि लडाईं हो । लडाईंकै रुपमा तयारी गर्नुहोस् भन्दै नेता प्रचण्डले गठबन्धन गरिदिन्छ र चुनाव जितौंला भन्ने मानसिकता परिवर्तन गर्न कार्यकर्ताहरुलाई सुझाउनु भएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षणका क्रममा कार्यकर्ताहरुलाई पुरै शक्ति लगाएर एक्लै कसरी चुनाव जित्ने भन्नेतिर लाग्न निर्देशन दिनुभयो ।

प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिहरु माओवादीलाई सिध्याउने हिसाबले षड्यन्त्र भैरहेको भन्दै अध्यक्ष प्रचण्डले ‘माओवादी लडेकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्न सम्भव भएको हो । समानुपातिक, समावेशीता लागू भएको हो । यसविरुद्ध प्रतिक्रान्तिकारी शक्ति र विदेशी शक्तिहरु एकजुट भएर उल्टाउन खोज्दैछन्’ भन्नुभएको छ ।

उक्त प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेताहरु स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ, गिरीराजमणि पोखरेल, रामकुमार शर्मालगायतका नेताहरुको समेत सहभागिता रहेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा कार्यकर्ता प्रशिक्षण र चुनावी अभियानलाई तिव्रता देश दौडाहामा निस्कनु भएको छ ।