फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दस वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग सो विषयमा छलफल गर्दै ५ बुँदामा ध्यानाकर्षण गराउनु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई बुझाउनु भएको ध्यानाकर्षण पत्रमा सशस्त्र द्वन्द्वमा घाइते अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्नुपर्ने, विभिन्न आन्दोलनका घाइतेलाई जीवन निर्वाह भत्ताको व्यवस्थालगायत पाँच वटा बुँदाहरु रहेका छन् ।
प्रधानमन्त्री समक्ष पेश गरिएका पाँच बुँदा यसप्रकारका छन् ।
१.सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,
२. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,
३. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,

४. जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने,

५.सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने आदि ।