फाइल तस्वीर
काठमाडौं – पूर्वमन्त्री प्रेमबहादुर सिंहले नेतृत्व गर्नुभएको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय हुने भएको छ । आज मङ्गलबार सिंहसहितको पार्टी नै एमालेमा समाहित हुन लागेको हो ।

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पदलाभ गर्न सकिने आशा र भरोसामा यतिखेर हरेक पार्टीमा प्रवेश गर्ने लहर छाएको छ । यसै अनुरुप समाजवादी जनता पार्टी पनि पदीय अस्थित्व खोज्दै एमालेमा विलय हुना लागेको हो । एमालेले आज मङ्गलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरी समाजवादी जनता पार्टीलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

समाजवादी जनता पार्टीका नेता र कार्यकतालाई मात्र नभै चर्चित सेलिब्रेटी अभिनेत्री करिश्मा मानन्धर पनि आजै एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । कलाकारिता क्षेत्रबाट राजनीतिमा होमिनुभएकी अभिनेत्री मानन्धर पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईले खोल्नु भएको नयाँ शक्ति पार्टीमा लाग्नु भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई पार्टीमा स्वागत गर्दै हुनुहुन्छ ।

नेपाल मजदुर किसान पार्टीबाट सक्रिय राजनीतिमा लाग्नु भएका पूर्वमन्त्री सिंहको राजनीतिक यात्रा उतार चढाव छ । जहाँबाट फाइदा लिन र शक्ति आर्जन गर्न सकिन्छ दलबल सहित त्यही पार्टीमा प्रवेश गर्ने संस्कार छ सिंहमा । राजनीतिक सिद्धान्त र विचारका आधारमा भन्दा पनि पदीय लालसा र शक्तिमा रमाउन चाहने यस्ता प्रवृत्तिले नेपाली राजनीति धुमिल बन्दै गएको छ ।