फाइल तस्वीर
काठमाडौं – सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रचण्ड नेपाली काङ्ग्रेसलाई नपर्खी दुई पार्टीबीच चुनावी तालमेल गरेर जाने विषयमा ठोस निर्णय गर्न आग्रह गर्नुभएको खुलासा गर्नु भएको छ । काठमाडौंको शङ्खरापुर नगरपालिकाको साँखुमा सोमबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले आफूलाई आज सोमबार बिहान प्रचण्डले टेलिफोन गरेर चुनावी गठबन्धनबारे तयारी थाल्न आग्रह गर्नुभएकोे जानकारी गराउनु भएको हो ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने सम्बन्धमा ठोस निर्णय गर्न सकेका छ छैनन् । यही परिवेशमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग काङ्ग्रेसलाई नपर्खी चुनावी गठबन्धनको तयारीको प्रस्ताव गर्नुभएको हो ।

अध्यक्ष नेपालले ‘काङ्ग्रेसमा गठबन्धनलाई लिएर स्पष्ट दुई धार रहेको अवस्थामा प्रचण्डजीले तयारी थाल्न आग्रह गर्नुभएको हो’ कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको हो । अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई जस्तै आफूहरुलाई पनि गठबन्धनको चिन्ता रहेको बताउनु भयो ।

सत्ताको नेतृत्व गरेको नेपाली काङ्ग्रेस पार्टीमा गठबन्धन दलहरुबीच चुनावी तालमेल गरेर जाने र नजाने विषयमा विभाजित छ । संस्थापन पक्ष सत्ता गठबन्धन दलहरुसँग चुनावी तालमेल गरेर जानुपर्ने भनिरहँदा संस्थापन इतर पक्ष डा. शेखर कोइराला पक्षका नेताहरु भने गठबन्धन नगरी एक्लै निर्वाचनमा जानु पर्ने अडानमा रहेका छन् ।

अध्यक्ष नेपालले कार्यकर्तामाझ ‘गठबन्धनका बारेमा छलफल भैरहेको र प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारेमा आफुसँग छलफल गरौ भन्नुभएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले काङ्ग्रेस तयार नहुँदासम्म हामी मिलेर तयारी गरौं भन्नुभएको बताउनु भयो । अध्यक्ष नेपालले भन्नुभयो ‘प्रचण्डजीको प्रस्तावको अर्थ सत्ता गठबन्धनले चुनावी तालमेल गर्दैन भन्ने होइन । काङग्रेस तयार नहुँदासम्म हामी मिलेर तयारी गरौँ भन्ने हो ।’