फाइल तस्वीर
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग तालमेल नगर्ने भएको छ । एमाले नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियस्तरमा कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगर्ने बताउनु भएको हो ।

आज सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रमुख सचेतक भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन हुन सक्ने भन्दै राष्ट्रियस्तरमा तालमेल र गठबन्धन नगरी एमाले एक्लै चुनाव लडने जिकिर गर्नुभयो । नेता भट्टराईले ‘स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै चुनाव लड्छ । स्थानीयस्तरमा स्थानीय आवश्यकताअनुसार कहिँकतै कार्यगत एकता भएबाहेक राष्ट्रिय स्तरमा एमालेले गठबन्धन गर्दैन’ – भन्नुभयो ।

एमालेको आज पालिटब्युरो बैठक बस्दै छ । उक्त बैठकमा मुलभूत रुपमा दुई वटा एजेण्डा रहेको भन्दै प्रमुख सचेतक भट्टराईले आगामी ९ र १० बस्ने केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्ने र बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी गर्ने विषयमा बैठक केन्द्रीत बताउनु भएको छ ।

आगामी निर्वाचनमा एमाले एकतिर र अरु दलहरु गठबन्धन हुनेगरी कित्ताबन्दी भएको छ । यस्तो अवस्थामा अघिल्लो निर्वाचनमा भन्दा यसपटक अत्यधिक सिटमा एमालेले जित्नेगरी एमालेले तयारी गर्ने नेता भट्टराईले दावी समेत गर्नुभयो । दुईसम्म सञ्चालन हुने केन्द्रीय कमिटीको बैठकले निर्वाचनलाई लक्षित गरी चुनावी घोषणापत्र र उम्मेदवारको मापदण्ड समेत निर्धारण गर्ने बताइएको छ । लोकप्रिय र जित्ने मात्रै नभै स्थानीय तह चलाउन सक्ने उम्मेदवारको खोजीमा आफ्नो पार्टी रहेको एमाले नेता भट्टराईको भनाइ थियो ।