काठमाडौं – शिक्षा मन्त्रालय अन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयहरुमा प्राविधिक धारका कार्यक्रमहरु सञ्चालन भएका छन् । एउटै संस्थामा दुई थरीका पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो ।

शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्तिमा भिन्नता देखिएपछि पाठ्यक्रम समायोजनको तयारी गरिएको हो । सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको प्राविधिक धारको पाठ्यक्रम नै कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ  भने तिनै सामुदायिक विद्यालयमा कक्षा १० पश्चात् सीटीईभीटीको तीन वर्षे डिप्लोमा कार्यक्रम समेत सञ्चालित भएका छन् । शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्र र सीटीईभीटीमार्फत विद्यालयमा पाठ्यक्रम मात्र होइन, शिक्षकको अनुदान तथा तालिमसमेत फरक रूपमा सञ्चालन भइरहेको छ ।

सीटीईभीटीको कार्यक्रम सामुदायिक विद्यालय, उसका आंगिक तथा सम्बन्धनप्राप्त शिक्षालयमा सञ्चालन भइरहेको छ  । माध्यमिक तह (९–१२) का ४ सय ८४ विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालित छन् । त्यसैगरी, साढे पाँच सयभन्दा बढी माध्यामिक विद्यालयहरुमा सीटीईभीटीको डिप्लोमा कार्यक्रम पठनपाठन भइरहेको छ ।

शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्सालले प्राविधिक धारको पाठ्यक्रम समायोजनका लागि आन्तरिक रूपमा तयारी भएको जानकारी दिनुभयो । पाठ्यक्रममा समायोजन, एकीकरण र अद्यावधिकीकरणका लागि प्राविधिक प्रशिक्षक प्रशिक्षण प्रतिष्ठानका व्यवस्थापन बोर्डका अध्यक्ष प्रा.डा.राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सीटीईभीटीका सदस्यसचिव, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक र राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव सदस्य रहेको समिति बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको छलफलपछि समिति बनेको हो ।

उक्त समितिले अहिले कार्यान्वयनमा रहेका सामुदायिक माध्यमिकमा सञ्चालित प्राविधिक धार कक्षा ९–१२ र प्राविधिक तथा व्यावसायिक तालिमअन्तर्गत शिक्षालय, सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालित प्रि–डिप्लोमा तथा डिप्लोमा कार्यक्रमको पाठ्यक्रमको विस्तृत अध्ययन गरी बजारको मागसमेतलाई मध्यनजर गर्दै पाठ्यक्रम समायोजन तथा परिमार्जन गरी एकीकृत पाठ्यक्रम तयार गरी ३० दिनभित्र पेश गर्ने जिम्मा दिएको छ । माध्यमिक तह ९–१२ मा कृषि, भेटेरिनरी, सिभिल, इलेक्ट्रोनिक्स, कम्प्युटर इञ्जिनियरिङको पढाइ हुन्छ  ।

शिक्षा मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको उप–महानिर्देशक र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को महाशाखा प्रमुख सदस्य रहने समिति बनाएको छ । मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षामा सबै स्थानीय तहका विद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चित गर्न अध्ययन समिति गठन गरेको छ ।