फाइल तस्वीर
सिमकोट – एमाले निकट अनेरास्ववियुले जिल्लामा निर्धारण गरिएको गाडी भाडा कार्यान्वयनमा नआएको भन्दै प्रमुख जिल्ला अधिकारी सीता परियारलाई ज्ञापनपत्र बुझाएको छ । गाडी मालिकहरूले निर्धारणको विपरीत यात्रुबाट बढी भाडा असुलेको भन्दै अनेरास्ववियुको तर्फबाट जिल्ला उपाध्यक्ष छक्कबहादुर लामाले ज्ञापनपत्र बुझाएको हो ।

भाडा निर्धारण भए पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए। प्रमुख जिल्ला अधिकारी परियारको संयोजकत्वमा बसेको बैठकले जिल्लाका छोटा तथा लामो दूरीका रुटहरूमा सञ्चालन हुँदै आएका गाडीको भाडा निर्धारण गरेको थियो।

यातायात व्यवस्था कार्यालय सुर्खेतले निर्देशन दिएअनुसार हुम्लामा गाडी भाडा निर्धारण हुँदै आएको छ। तर, जिल्लामा यसको कार्यान्वयन हुन नसकेपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हुम्लाले जिल्ला प्रशासन कार्यालय हुम्लाको ध्यानार्कषण गरेको छ। यातायात व्यवसायीले निर्धारित भाडा काार्यन्वयनमा नल्याउँदा सर्वसाधारण थप मारमा परेको भन्दै उपाध्यक्ष लामाले निर्धारण गरिएको भाडा कार्यान्वयन हुनुपर्ने माग गरे।

गाडी मालिक तथा चालकहरुले मनोमानी ढङ्गले भाडा असुल्ने गरेको उपाध्यक्ष लामाको भनाइ छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी परियारले तत्काल सुरक्षा निकायलाई जानकारी गराई निर्धारण गरिएको भाडादर कार्यान्वयनमा ल्याइने बताइन् । उनले बढी भाडा असुल्ने गाडी मालिक तथा चालकहरुलाई कारबाही गरिने जानकारी दिइन् । हुम्लाको दक्षिण क्षेत्रका लागि एक किलोमिटरको आठ र सदरमुकाम आसपासका रुटका लागि १० रुपैयाँ भाडा निर्धारण गरिएको थियो।