फाइल तस्वीर
काठमाडौं — निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन सामाग्री आयात गर्ने भएको छ । निर्वाचन सामाग्री आयातका लागि निर्वाचन आयोगले आपूर्तिकर्तासँग सम्झौता गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनका लागि आवश्यक विभिन्न २३ किसिमका सामग्रीहरु विदेशबाट आयात गर्नु पर्ने भएकाले सम्झौता भएको हो । स्थानीय तह निर्वाचनमा ५६ प्रकारका सामाग्री आवश्यक पर्ने आयोगले जनाएको छ । आयोगले करिब २७ करोड रुपैयाँ बराबरको निर्वाचन सामाग्री विदेशबाट आयात गर्न लागेको हो । नेपालमा उत्पादन नहुने र बढी मात्रामा आवश्यक पर्ने सामाग्री खरिद गर्न आपूर्तिकर्तासँग सम्झौता गरिएको हो ।

निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीमध्ये नेपालमा स्थानीयस्तरमै उपलब्ध हुने १५ प्रकारका सामग्री खरिदको व्यवस्थापन गर्न सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई अनुमति दिइसकेको छ । निर्वाचन आयोगसँग करिब ६५ हजार मतपेटिका मौज्दात रहेको आयोगले जनाएको छ । तर मतपत्रको साइज केही ठूलो भएको खण्डमा मौज्दात मतपेटिकामा अटाउन समस्या हुन सक्ने आयोगको ठम्याइ छ ।

अयोगका सहायक प्रवक्ता समेत रहनु भएका उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार मतपत्रको ढाँचा विगतको भन्दा केही ठूलो भएमा मौज्दात मतपेटिकामा अटाउन समस्या हुन सक्नेछ । निर्वाचन प्रयोजनका लागि मात्रै बढी मात्रामा प्रयोग हुने स्वस्तिक चिह्न, छेकबारा, लाहालगायतका सामग्री आपूर्तिकर्ताले विदेशबाट मगाउनेछन् । स्थानीय निर्वाचन लागि छेकबारा ७८ हजार थान, स्टाम्प प्याड दुई लाख चार हजार थान, रबर म्याट ७८ हजार थान, स्ट्याप्लर मेसिन २६ हजार थान र स्वस्तिक छाप दुई लाख आठ हजार थान आवश्यक पर्ने आयोगको भनाइ छ ।

त्यसैगरी, ५२ हजार प्याकेट पित्तलको छाप र २६ हजार पित्तलको लाहा तथा चार लाख ८० हजार ‘सेक्युरिटी सिल’ निर्वाचनका लागि आयोगले आपूर्ति गर्ने सम्झौताको तयारीमा छ । एक प्याकेट लाहामा तीन थान हुनेछ । आयोगले आयात गर्नुपर्ने २३ प्रकारका सामग्री खरिद गर्न १० वटा प्याकेजमा प्रस्ताव आह्वान गरेको थियो । सबै सामाग्री खरिद गर्न २७ करोड १९ लाख ५२ हजार ८ सय ६ रुपियाँ खर्च हुने अनुमान गरिएको छ । आयोगले आयात गर्न लागेको विभिन्न २३ सामाग्रीहरुमध्ये सबैभन्दा बढी मतदान स्थलको गोपनीयताका लागि प्रयोग गरिने पर्दा र छेकबाराका मात्रै १२ करोड ७८ लाख ९१ हजार रुपियाँ खर्च गर्नेछ ।