पाल्पा – गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको बताउनुभएको छ । विद्युतीकरण, बाटो निर्माण लगायतका क्षेत्रको विकासका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै उहाँले यसले देशमा विकास हुने जिकिर गर्नुभयो ।

नेपाली काङ्ग्रेस रामपुर नगरपालिका पाल्पाले हिजो शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ’एमसीसी नेपालका लागि फाइदाजनक छ । त्यसकारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ ।’

काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गृहमन्त्री खाँणले एमसीसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ’स्थानीय तहको निर्वाचन हुन्छ । सरकार निर्वाचनको तयारीमा लागेको छ । यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ ।’