काठमाडौं – निर्वाचन आयोगले आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी मनोनयनको तालिका सार्र्वजनिक गरेको छ । उम्मेदवार बन्न चाहनेहरुले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्न पाउने छन् । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

यसैगरी उम्मेदवारीमा उजरी दर्ता, त्यसमाथि छानविन लगायतको प्रक्रिया पूरा गरेर बैशाख १५ गते उम्मेदवारको नाम सार्वजनिक हुनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय छुट्याइएको छ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । बैशाख २७ गते मध्यरातदेखि मौन अवधि लागू हुनेछ । चुनाव प्रचार प्रसार बन्द हुनेछ । मौन अवधि ४८ घण्टाको हुनेछ । बैशाख ३० गते शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्नेछन् ।